स्थानीय अनुदान संकलन प्रवर्धनका लागि समुदाय निर्माण

नेपालमा जातिय भेदभाव मुक्त तथा न्यायसंगत समाजको लागि संघर्ष चलि नै रहेको छ र यसको प्रगति एकदम सुस्त छ । टेवामा हामी महिलाहरु आफ्नो समुदायको सशक्त तथा प्रभावशाली सदस्य हुन सक्छन् भन्ने कुरामा विश्वास राख्छौँ । यसका लागि एउटा उपाय महिलाले आर्थिक आत्मनिर्भरता तथा आफ्ना साधनमाथी अधिकार प्राप्त गर्न सक्ने आफ्नो क्षमताको पहिचान गर्नु हो । महिलाले आफूलाई दमन गर्ने, भेदभाव गर्ने तथा सिमाङ्ककृत बनाउने शक्ति संरचनालाई चुनौति दिन र परिवर्तन गर्न सकुन् भन्ने उद्देश्यले  हामी उनीहरुलाई सशक्त गराउन चाहन्छौँ । यसलाई हाम्रो मूल विचार मान्दै अनुदान संकलन मात्र रकम संकलन भन्दा वृहत्तर विषय हो भन्ने हाम्रो अडिग विश्वास रहेको छ ।

टेवाको अर्थ ‘सहारा’ हो र यो नेपालमा महिलाको लागि रहेको एकमात्र कोष हो । हामी स्थानीय पूँजी र परोपकारको संस्कृति निर्माणमा निर्भर रहेर दर्ता भएका महिला समूहहरूलाई अनुदान प्रदान गरी महिला सशक्तिकरण, निष्पक्ष न्याय तथा शान्तिलाई प्रवर्धन गर्छौँ । उदाहरणका लागि, २०७२ बैशाखको भूकम्प पश्चात छरछिमेक पूनर्निमाणमा सहयोग गर्न महिलाहरुले आफ्ना समुदायमा नेतृत्व भूमिका निभाए । हाम्रा अनुदानग्राही साझेदारहरु मध्ये एक पान मायाले भूकम्पले अत्यन्त क्षति पुर्याएको सिन्धुपालचोक जिल्लाको सदरमुकाम चौताराभन्दा एक घण्टाको पैदल दूरीमा रहेको सैठोक गाउँमा एउटा महिला समूह संगठन गरिन् । उक्त समूहले आफ्नो गाउँमा क्षति भएका छिमेकीका घरहरुको अवशेषलाई व्यवस्थापन गर्न सहयोग गर्न थाले । गाउँका अधिकांश पुरुष खाडी मुलुकमा रोजगारका लागि विदेशिएकाले महिलाहरुले पारम्परिक पितृसत्तालाई उछिन्न सक्षम भए र आर्थिक सहयोग प्राप्त गरेपछि उनीहरुले पुरुषले निभाउने गरेको भूमिका पनि निर्वाह गरे । प्राकृतिक प्रकोपले समुदायहरुलाई यसरी जगैदेखि झक्झकाऊँछ कि पारम्परिक लैङ्गिक भूमिका पनि बदलिन्छ ।

World Bank Photo Collection/Flickr/(Some Rights Reserved)

The battle for a caste free and equitable society in Nepalis ongoing and progress is slow, but women and the traditionally marginalized have started speaking up and taking action.


पान माया जस्ता महिलालाई सहयोग गर्ने हाम्रो सामथ्र्यको लागि स्थानीय तहमै रकम संकलन अत्यन्त महत्वपूर्ण रहिआएको छ । यसमा हाम्रो पूँजीको ५५ प्रतिशत सहयोग हामीलाई स्थानीय दातृ निकायले दिन्छन् भने बाँकी ४५ प्रतिशत विदेशी दातृ निकायले प्रदान गर्छन् । हाम्रो रचनात्मकता र दृढताका कारण महिला समुहलाई अनुदान दिनका लागि हामी स्थानीय श्रोतहरुबाट प्रत्येक वर्ष औसतमा २५,००० अमेरिकी डलर संकलन गर्न सफल भएका छौँ । हामी विभिन्न वर्ग, जातजाती, भूगोल, उमेर, धर्म, र सबै आय समूहका व्यक्तिहरूबाट तथा घर दैलो तथा अनुरोध र कार्यक्रम, अभियान र सान्धर्भिक विषयवस्तुमा नविन तरिकाको प्रयोगहरुबाट व्यक्ति, संघसंगठन, साना तथा मझौला व्यवसाय आदि सबै बाट रकम संकलन गर्छौँ । हामी चलचित्र प्रदर्शनी, पदयात्रा, आफ्ना प्रियजनहरुको सम्झनामा दीप प्रज्ज्वलन, चिट्ठा, साथै टेवा चियापान जस्ता कार्यक्रमहरुका साथ अलग–अलग व्यक्तिका लागि अलग–अलग कार्यनीतिको प्रयोग गर्छौँ । टेवा चियापान विश्वको बारेमा गहन चिन्ता गर्ने व्यक्तिहरुद्वारा समर्थित विश्वासिला सम्बन्धहरुको संजाल हो । टेवा “एन्जल्स” भनिने संयुक्त राष्ट्र अमेरिकाका हाम्रा साथीहरुद्वारा आयोजित यो कार्यक्रममा हातैले बुनेको पछ्यौराहरु तथा अन्य सामग्रीहरु पनि बेचिन्छ र यो कार्यक्रम पूँजी संकलनको एक रुप हो । हामी विभिन्न कार्यक्रमहरुबाट लगभग ७ प्रतिशत, टेवा चियापानबाट १३ प्रतिशत, अनुदानबाट ३३ प्रतिशत र विभिन्न अभियानहरुबाट ४७ प्रतिशत पूँजी संकलन गर्दछौँ ।

स्वयंसेवीरुको सहयोबाट समुदायको क्षमता बढाउने काम हामीले उपयोग गरेको एक महत्वपूर्ण अनुदान संकलन कार्यनीति हो । विभिन्न समुदायहरुसम्म पहुँच पुर्याउन र उनीहरुसँग जोडिनको लागि अनुदान संकलनमा खटिएका स्वयंसेवीहरुलाई हामी महिलावाद तथा परोपकारबारे शिक्षा तथा प्रशिक्षण दिने र तयार बनाउने काम गर्छौँ । यो केवल अनुदान संकलन बारेमात्र होइन – यो महिलावादी तथा सामाजिक कार्यकर्ताहरुको प्रशिक्षणको बारेमा हो । एकचोटी प्रशिक्षण लिइसकेपछि स्वयंसेवकहरुले आफ्नो समाज तथा संजालमा यो कामलाई अगाडी बढाउछन् र अनुदान संकलनको व्यक्तिगत योजनाहरुको विकास गर्छन् । हाल स्वयंसेवकहरुको संख्या ६८३ भन्दा बढी छ, जसमध्ये २५० देखि ३०० स्वयंसेवक अनुदान संकलनमा सक्रिय रहेका छन् । हामी यी स्वयंसेवकहरुलाई हाम्रो कार्यशालाहरुमा संलग्न गराउनुका साथै उनीहरुको जीवनका अन्य पक्षहरुमा उपयोगी हुने क्षमताको अभ्यास गराउँछौँ । फलस्वरूप, हाम्रो काममा उनीहरूको गम्भीर चासो कायम रहन्छ तथा हाम्रा कार्यक्रमहरूमा व्यक्तिगत हैसियतले स्वयंसेवक दाता भएर नै संलग्न हुन्छन् । धेरै स्वयंसेवकहरुले आफ्नै व्यवसाय शुरु गरेका छन् र आफ्नो समुदायमा परामर्शदाता पनि भएका छन् ।

स्वयंसेवक कार्यक्रमबाट थुप्रै अतिरिक्त प्रभाव सिर्जना हुने गरेको छ

स्वयंसेवक कार्यक्रमबाट थुप्रै अतिरिक्त प्रभाव सिर्जना हुने गरेको छ । उनीहरुमध्ये धेरैले टेवामा काम गरेसँगै आफ्नो सोच र परिवार तथा समुदायसँग अन्तरक्रिया गर्ने शैली बदलिएको बताएका छन् । हामी आफ्ना स्वयंसेवकहरुको लागि कुनै विज्ञापन गर्दैनौँ । उनीहरु हाम्रा भूतपूर्व अथवा वर्तमान स्वयंसेवकहरुबाट थाहा पाएर हाम्रो तालिम तथा प्रशिक्षणहरुमा भाग लिन्छन् । यो एउटा चुनौती हो, तर यसले यो कार्यक्रमको गहिरो प्रभाव पनि दर्शाउछ । हुनपनि अनुदान संकलन रकमका बारे मात्र कदापि हुनुहुँदैन । यो महिला अधिकार तथा सामाजिक न्यायको बारेमा जागरुकता बढाउनेबारे पनि हुनु आवश्यक हुन्छ । हाम्रा प्रायः स्वयंसेवकले हामीसँग संलग्न हुनुअघि कहिल्यै पनि अधिकार, सामाजिक न्याय तथा परोपकारको बारेमा सुनेका थिएनन् । अहिले ति स्वयंसेवकले आफ्नै समाचारपत्रको स्थापना गरेका छन्, अनुदानग्राहीहरूसम्म पहुँच निर्माण गर्न दानपूँजी स्थापना गरेका छन्, र अन्य महिलाहरुलाई सहयोग गर्न बचत तथा ऋण वितरण गरेका छन् । यसका साथै, धेरै स्वयंसेवकहरुले एक पुर्णतावादी, बहुउद्देशीय स्थल टेवा केन्द्रको निर्माणका लागि आर्थिक सहयोग गरेकाछन् । यस केन्द्रले कार्यक्रमस्थलको रूपमा बहाल आयआर्जन गर्नेछ । हामीले यो केन्द्र निर्माण गर्न आवश्यकमध्ये दश प्रतिशत पूँजी स्थानीय श्रोतबाट संकलन गर्यौँ ।

स्वयंसेवकहरु बाहेक हामी विभिन्न बैंक र निगमहरुसँग संलग्न छौँ तर यस्ता संस्थाहरुले आफ्नै छुट्टै सामाजिक कार्यका लागि संस्था स्थापना गर्ने हुनाले यी संस्थाहरूबाट अनुदान संकलन गर्न कठिन छ । हामीले बैंक तथा व्यापारिक संस्थाहरूबाट कार्यक्रमका लागि प्रायोजन तथा समर्थन प्राप्त गर्न सफल भएपनि साना व्यवसाय तथा व्यक्तिगत दाताहरुसँग हाम्रो मान्यता र उदेश्य अधिक मेल खाने भएकोले त्यस्ता संस्थाहरुबाट हामीलाई दिर्घकालिन सहयोग प्राप्त हुन्छ । उदाहरणका लागि, शृंगार प्रशाधनसम्बन्धि एउटा सानो व्यापारिक संस्थालाई संलग्न गराइ हाम्रो कार्यक्षेत्र स्पष्ट पार्दा हामीले एक साझेदारी स्थापना गर्न सफल भयौँ जसको माध्यमबाट उक्त संस्थाले आफ्नो लाभको सानो अंश टेवालाई दान गर्दछ ।

यद्यपि, स्थानीय अनुदान उठाउन निश्चित रूपमा सजिलो छैन । पटकैपिच्छे एउटै दातासँग रकम संकलन गर्ने गरे दाताहरू विमुख हुनु स्वभिविक हुन्छ । कर्मचारीको तलब र संगठनात्मक प्रशासनको लागि बाहिरी दाताबाट मुख्य समर्थन बाहेक हामीले १९ वर्ष सम्म केवल स्थानीय अनुदान मात्र स्वीकार गर्ने गरेका थियौ । तर समयक्रममा संगठनको विस्तारसँगै आर्थिक भार पनि बढ्दै गयो । द्वन्द्वोत्तर संक्रमण कालका दौरान, हालैको भुकम्प र अस्थिर आन्तरिक राजनीतिक परिस्थितिले सामाजिक–आर्थिक स्थितिलाई अझ गम्भीर र स्थानीय अनुदान संकलन अझ चुनौतीपूर्ण बनाइदिएको छ । माग र आवश्यकता धेरै नै बढी भएको कारणले सन् २०१४ देखि हामीले विदेशी दाताबाट पनि अनुदान लिन थाल्यौँ ताकि हामीले हाम्रो अनुदान पूँजी विस्तार गर्न सकौँ । स्थानीय अनुदान संकलनमा मात्र निर्भर भएको भए हामीले अन्य अनुदानग्राही साझेदारहरुलाई धेरै अनुदान रकम दिन सक्ने थिएनौँ । तथापि, बाह्य सहायता प्राप्त गर्नुले स्थानीय तहमा अनुदान संकलनको हाम्रो अभियान र प्रयास घटेको छैन । हामी वार्षिक दान संकलनका साथै व्यापारिक संस्थाहरूसँगको साझेदारीबाट स्थानीय अनुदान संकलन वृद्धि गर्न जारी राख्ने छौ ।

स्थानीय परोपकारको संस्कारले हामीलाई पान माया जस्ती प्रेरणादायी महिलालाई टेवा पुर्याउन सम्भव गराएको छ । स्थानीय तहमा परोपकारलाई टेवाले समर्थन गर्दछ । हामी यो काम अर्को जन्मको धार्मिक लाभको लागि हैन वर्तमानमा यसले ल्याउन सक्ने वास्तविक र ठोस बदलावको लागि गर्दछौँ । हामीले हाम्रा स्वयंसेवकहरुलाई प्रशिक्षित गर्ने शैलीका कारण हामीले नयाँ पुस्तामा यस विचारका अभिवक्ताको संख्या वृद्धि गर्दै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न समर्थ सशक्त महिला जनशक्ति निर्माण गरेका छौँ । परोपकार कार्य आपसी विश्वास स्थापना गर्ने, पुँजी सम्वर्धन गर्ने तथा सक्षमता बनाउने बारे हो । यसले लिने र दिने दुवैको उपकार हुन्छ ।